काठमाडौं - एएफसी यु-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग १-१ बराबरी खेलेको छ। 

भुटानको थिम्पुस्थित चाङ्लीमिथान स्टेडियममा भएको खेलमा पहिलो हाफमा १-१ बराबरी भएको दोस्रो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन्। नेपाली यु-२० महिला प्रतियोगितामा पहिलो पटक भुटानसँग बराबरी खेलेको हो।

खेलको पहिलो मिनेटमा सुक्रिया मियाले बायाँ तर्फबाट दिएको क्रसलाई पूर्णिमा राईले सफ्ट टच दिँदै सेनु परियारले उत्कृष्ट फिनिस गरेकी थिइन्। पहिलो मिनेटमा नै १-० को अग्रता लिएको नेपालले अग्रता जोगाउन सकेन।

खेलको १८औं मिनेटमा भुटानले गोल फर्कायो। भुटानका लागि क्याल्डेन वाल्मुले गोल फर्काइन्। उनले तीनजना डिफेन्डर र एकजना गोलकिपरलाई डिबक्स भित्रबाट बिट गर्दै गोल गर्दै भुटानलाई १-१ बराबरीको स्थितिमा ल्याएकी हुन्। खेलको ५९औं मिनेटमा पूर्णिमा राईले गरेको गोल अफसाइड भएको हो। 

नेपालले यसअघि महिला यु-२० फर्म्याटमा भुटानसँग बराबरी  खेलेको थिएन। नेपालले सन् २०२३ मा साफ यु-२० च्याम्पियनसिपमा खेल्दा ४-० को जित दर्ता गरेको थियो । गत महिना बंङ्गलादेशमा सम्पन्न भएको साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले लिग चरणको पहिलो खेलमा भुटानलाई ६-१ले पराजित गरेको थियो भने दोस्रो खेलमा ८-० गोलले पराजित गरेको थियो।

नेपालले दोस्रो खेल अगष्ट ८ मा साउदी अरेबियासँग खेल्नेछ। छनोट चरणको अन्तिम खेल नेपालले उत्तर कोरियासँग १० अगष्टमा खेल्नेछ।