काठमाडौं - बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ता भएको हो।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ। आजै यहाँका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीसँँग  ढाकास्थित होटेल कन्टिनेन्टलमा शिष्टाचार भेटवार्ता गर्दै बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेन । 

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज यहाँ आइपुगेकी हुन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुगेकी राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा  स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनेछिन्। दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ। राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री  ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित हुनुहुन्छ। भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन्।