टि२० सिरिजमा नेपालको सानदार जित
काठमाडौं - तेस्रो खेलमा सानदार जित निकाल्दै नेपालले जिम्बावे ‘ए’विरुद्धको टि२० सिरिज बराबरी गरेको छ ।
मंगलबार टियु क्रिकेट मैदानमा भएको अन्तिम खेलमा नेपालले जिम्बावे ‘ए’लाई ८ विकेटले पराजित गरेको हो । जिम्बावे ‘ए’ले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकिय पारी खेले । उनले ५४ बलमा १३ चौका र १ छक्काको मद्धतमा सर्वाधिक ८७ रन जोडे । अर्का ओपनर कुशल भुर्तेलले ३४ रनको योगदान गरे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका बसिर अहमदले १० रन बनाउँदै दीपेन्द्रसिंह ऐरी शून्य रनमै नट आउट रहे ।
जिम्बावे ‘ए’का लागि ब्रान्डन मावुता र लुक जोंगवेलेको नाममा एक/एक विकेट रह्यो । यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको जिम्बावे ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।
जिम्बावे ‘ए’का लागि रोय काइयाले ४९ रनको योगदान गरे । ओपनरद्वय इनोसेन्ट कैया र तडिवानासे मरुमणिले क्रमश: १४ र २७ रन बनाए ।
कप्तान टिनोटेन्डा मुटोम्बोड्जी २ रनमै आउट हुँदा क्लाइभ मडान्डेले ४, कुडजाइ मौन्जेले ६, लुक जोंगवेले २३, ब्राड इभान्सले २ रन जोडे ।नेपालका लागि कप्तान सन्दिप लामिछानेले दुई विकेट लिए । बसिर अहमद र सोमपाल कामीले समान एक/एक विकेट लिए ।
जिम्बावे ए विरुद्ध पहिलो टी-२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । आजको खेलमा जित निकाल्दै नेपालले सिरिज बराबरी गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस