काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसला राजनीतिक कदमकै निरन्तरताको अर्को कडी भएको बताएका छन् । 

उनले सो फैसलाप्रति तिब्र असहमति रहेकोसमेत बताएका छन् । अदालतले देशको परिवर्तन र  राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको उनको भनाई छ । 

‘सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो।यो गलत निर्णयप्रति हाम्रो तिब्र असहमति छ।अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ।जागौं।’ श्रेष्ठले भने । 

बिहिबार सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)खारेज गर्ने फैसलाविरूद्ध  पुनरावलोकन नहुने फैसला गरेको थियो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकनको निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहित न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको बेन्चले सुनुवाइको अनुमतिको आदेश दिन अस्विकार गरेको हो ।