काठमाडौं - नेकपाको प्रचण्ड-नेपाल पक्ष आज पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदैछ ।

केन्द्रीय कमिटीको सोमबार बसेकाे बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेपछि सो पक्ष आज जान लागेको हो । झन्डै ६५ प्रतिशतभन्दा बढी केन्द्रीय कमिटी सदस्य भएको पक्षले गरेको निर्णयलाई आयोगले वैधानिक नभएको भन्दै विवरण अद्यावधिक नगरेकामा बैठकले असन्तुष्टि व्यक्त गरेको थियो ।

आयोगले केन्द्रीय कमिटीको संख्या ४ सय ४१ लाई आधिकारिक मानेकाले अब त्यसको करिब दुई तिहाइ संख्या आफूसँग रहेको दाबी गर्दै सो पक्षले आधिकारिकताका लागि आयोगसमक्ष पुग्न लागेको हो । सो पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने तयारी गरेको छ । दफा ४४ अनुसार कुनै पनि पक्षले केन्द्रीय कमिटीको ४० प्रतिशत सदस्यको हस्ताक्षर र प्रमाणसहितको विवरण आयोगमा पेस गर्दै आधिकारिकता दाबी गर्न सक्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा दुई चिरामा विभाजन भएको छ । सोमबारको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने स्थायी कमिटीको बैठकको निर्णय अनुमोदन पनि गरेको छ । ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली पक्षले पनि १ हजार ५ सय १ सदस्यीय बनाउने र अर्का अध्यक्ष प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेका थिए ।