काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुले चाहे नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रलाई फुटाउन सक्ने दाबी गरेका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतले एक कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु कांग्रेस र माओवादी फुटाउन सक्षम रहेको बताएका हुन् ।

सोमबार एमालेको भातृ संगठन युवा संघ नेपाललाई भर्चुअली सम्बोधन गर्दै कांग्रेसका २३ सांसद र माओवादीको २५/२६ जना सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गरेका हुन् । कांग्रेस र माओवादीले यस्तै हर्कत जारी राखे दुबै पार्टीलाई फुटाउनसक्ने अवस्थामा आफूहरु रहेको उनको दाबी छ ।

विपक्षी गठबन्धनप्रति रुष्ट बस्नेतले भने, ‘उहाँहरुको जस्तो हर्कत गर्ने हो भने हामी दुबै दललाई विभाजन गर्न सक्ने हैसियतमा छौं । यद्यपि यस्ता गतिविधि गर्दा अपहरण जस्ता आरोप लगाउँछन् ।’

बस्नेतले माओवादी केन्द्रका २५/२६ जना सांसद अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पार लाग्दैन भन्ने निष्कर्षमा पुगेको उनले बताए । उनले विगतमा केपी शर्मा ओलीलाई गाली गर्ने माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, जनादर्न शर्मा लगायतहरु एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको दाबी गरेका छन् । तर, बस्नेतले भने आफूहरु माओवादी भित्रको क्रान्तिकारीहरुलाई एमालेमा ल्याउने बताए ।