काठमाडौं - प्रदेश-५ सरकारको राजधानी दाङ बनाउने विषयको विरोधमा प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै बुटवलमा प्रदर्शन भएको छ ।

जिल्ला प्रशासन रुपन्देहीले राजधानीको विरोधमा प्रदर्शन हुन थालेपछि शनिबार रातीबाट ५ जनाभन्दा बढी जम्मा हुन नपाउने गरी बुटवलका १२ स्थानलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो । तर, तीन दर्जन बढी पेशागत तथा व्यावसायिक संघसंस्थाको साझा सञ्जालले आइतबार बुटवलमा प्रदर्शन गरेको हो ।

चौराहदेखि सुरू भएको प्रदर्शन मुख्यमन्त्री निवास रहेको मिलनचोक, अस्पताल लाइन हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै उद्योगी व्यवसायीका नेताहरुले राजधानी बनाउने भन्दै चुनावमा मत लिएर पूर्वाधार नै नभएको स्थानमा राजधानी तोकिएकोमा कडा आलोचना गरेका छन् ।

प्रदर्शन सुरु भएपछि बुटवलमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।