काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। शीर्ष ६ मा पुग्ने झिनो आशा कायम राख्न नेपालले ओमानलाई हराउनैपर्ने दबाब छ।
ओमानको अल अमिरातमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। नेपालले जित निकाले ३० अंकसहित तालिकाको छैटौं स्थानमा उक्लनेछ। तर, पराजित भए छैटौं स्थानमा पुग्ने नेपालको सम्भावना समाप्त हुनेछ।
हाल ३५ खेलबाट २८ अंक जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ। क्यानडा २९ अंकसहित छैटौं स्थानमा रहेको छ। त्यसैले नेपाललाई क्यानडालाई उछिनेर शीर्ष ६ मा पुग्न आजको खेल जित्नैपर्ने अवस्था छ।
लिग–२ को शीर्ष ६ मा रहन सके नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राख्ने सम्भावना बलियो हुनेछ। यही कारण ओमानविरुद्धको खेल नेपालका लागि अंक तालिकामा स्थान सुधार गर्ने अवसर मात्रै नभई ओडीआई मान्यताको भविष्यसँग पनि जोडिएको छ।
यसअघि नै शीर्ष चारमा पर्दै सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउने नेपालको सम्भावना समाप्त भइसकेको छ। अब विश्वकप छनोटमा पुग्न नेपालले प्लेअफको बाटो अपनाउनुपर्नेछ।
।

.gif)



