काठमाडौं - सरकारले पछिल्लोपटक सञ्चालन गरेको कोरोनाविरुद्भको खोप अभियानअन्तर्गत काठमाडौं जिल्लामा एक लाख ४८ हजार ३३४ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् ।

गत असार २९ देखि साउन १ सम्म उक्त संख्यामा भेरोसेलको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए। शुक्रबार मात्रै ३२ हजार २५५ जनाले खोप लगाएका छन्। त्यसो त मौज्दात खोप अभाव भएको भन्दै स्वास्थ्य कार्यालयले शुक्रबार दिउँसोदेखि नै अभियान स्थगित गरेको छ ।

कार्यालयका अनुसार असार ३१ मा ५८ हजार ६२०, असार ३० मा ४३ हजार ३३४ जना र असार २९ मा १३ हजार ६६३ जनाले खोप लगाएका थिए । पछिल्ला दिनमा जिल्लाले ५० वटा खोप केन्द्र सञ्चालनमा ल्याएको थियो। यसपटक ५५ वर्षमाथिका सबै नागरिक, शिक्षक, प्राध्यापक, कर्मचारी, सवारी चालक, सहचालक लगायतका पेशामा आवद्धलाई खोपको प्राथमिकतामा राखिएको थियो। स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ५७ हजार ४०० डोज खोप उपलव्ध गराएको थियो ।