काठमाडौं - डेढ महिनाभन्दा बढी बन्द रहेको शेयर बजार आजदेखि खुल्ने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको शेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण बढ्न नदिन बन्दाबन्दी घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो ।

नेपाल स्टक एक्सचेन्जले मङ्गलबारदेखि शेयर बजार सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङगलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डको निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा खुल्न लागेको हो ।

बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गरिने बताइएको छ ।

 गोरखापत्र दैनिकबाट