काठमाडौं - प्रभु बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बीच युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ । 

हेफर इन्टरनेशनल एसियाका बरिष्ठ कार्यक्रम निर्देशक निना जोशीको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार कृषि तथा पशुपालन सम्बन्धि क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृंखलामा संलग्न युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सहज ढङ्गले बित्तिय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको हो ।

यो साझेदारीको मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको ब्यबसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।  यस योजनामा हेफर नेपालका तर्फबाट कृषि सहकारी र स्थानिय सरकार पनि आबद्ध रहेका छन् ।

यो परियोजनाले कृषि सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरि बैंकसँग जोड्न सहज बनाउने छ । साथै, बैंकले ६२ जिल्लामा रहेका २१६ शाखा कार्यालयहरु ६३ एक्स्टेन्सन काउन्टर तथा १९४ एटीएम सहित करिव १,५०० उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।