काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । आज बिहान उनी त्रिभुवन विमानस्थलबाट चीन प्रस्थान गरेका हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनपिङको निमन्त्रणमा चीन जान लागेका प्रधानमन्त्री ओलीलाई शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखक लगायतले बिदाइ गरे ।

सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली बुधबारसम्म चीनमा रहेछन् ।

एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत त्यहाँ उपस्थित हुनेछन् ।

भ्रमणका क्रममा ओलीले विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । ओलीले चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्ने छन् ।

त्यसक्रममा प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८०औं वार्षिकोत्सव कार्यक्रममा समेत सहभागी हुने भनिएको छ । भ्रमण तथा कार्यक्रम सकेर प्रधानमन्त्री ओलीको टोली भदौ १८ गते स्वदेश फर्कने तालिका छ।