काठमाडौं - पाँच दलआबद्ध सत्तारूढ दलको गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतका सरकारले गरेका गल्ती सुधार्न सुझाएको छ ।

प्रधानमन्त्रीमा देउवाले पदभार ग्रहण गरेपछि पहिलोपटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहभागी नेताहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएका गल्ती सच्याउँदै अघि बढ्न प्रधानमन्त्री देउवालाई सुझाएका हुन् ।

बैठकमा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीले जनजीविकाका सवालमा गर्नुपर्ने थुप्रै काम नगरेको र नगर्नु पर्ने काम गरेकाले त्यसलाई सुधार्नु सरकारको पहिलो दायित्व भएको सुझाएका थिए ।

सत्ता गठबन्धनबाट प्रधानमन्त्रीलाई सुझाव

‘ओली सरकारले जनताका कुरा कम सुन्ने र समस्यामा कम ध्यान दिने गरेर जनताबाटै तिरस्कृत भइसकेको थियो अब विगतमा भएका गल्ती सुधार्नै पर्छ र नयाँ गल्ती पनि थपिनुहुन्न,’ दाहालले प्रधानमन्त्री देउवालाई गठबन्धन आबद्ध दलको बैठकमा भनेका छन् ।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि पूर्वप्रधानमन्त्री ओलीबाट भएका विगतका गल्ती सच्याउन प्रधानमन्त्री देउवालाई आग्रह गरिएको बताए ।

‘केपी शर्मा ओलीबाट जुन गल्ती भए, ती गल्ती सच्याउँदै जानुहोस् र थप गल्ती नगर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई भनेका छौं,’ यादवले भने ।

ओली सरकार जनताका कुरा कम सुन्ने र समस्यामा कम ध्यान दिने गरेकाले जनताबाट तिरस्कृत भएको थियो । अब विगतमा भएका गल्ती सुधार्नैपर्छ र नयाँ गल्ती पनि थपिनुहुन्न

-पुष्पकमल दाहाल, अध्यक्ष, माओवादी केन्द्र

सत्तारूढ गठबन्धन बैठकमा कोरोना महामारी रोकथाम तथा नियन्त्रण, खोपको व्यवस्थापन, मन्त्रालय बाँडफाँट र सरकार विस्तार, संसद् सञ्चालन, सरकारले संसद्बाट लिनुपर्ने विश्वासको मत, उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण, विपद्बाट भएका र हुन सक्ने सम्भावित क्षति र पूर्वतयारीलगायतका विषयमा छलफल भएको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

यसैगरी, विपक्षी गठबन्धन हुँदै सरकार गठनसम्मको अवस्थासम्म आइपुग्दाको गम्भीर समीक्षा भएको खड्काले बताए । ‘बैठकमा विपक्षी गठबन्धन हुँदै सरकार गठनसम्मको अवस्थासम्म आइपुग्दाको गम्भीर समीक्षा भयो, यस्तै कोरोना महामारी र रोकथाम तथा नियन्त्रणसहित समग्र राजनीतिक अवस्थाका विषयमा छलफल भयो,’ कांग्रेस महामन्त्री खड्काले राजधानीसँग भने ।

केपी शर्मा ओलीबाट जुन गल्ती भए, ती गल्ती सच्याउँदै जानुहोस् र थप गल्ती नगर्नुस् भनेर हामीले नवननिुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेका छौं

-उपेन्द्र यादव, अध्यक्ष, जसपा

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, जसपा अध्यक्ष यादव, नेकपा एमालेका नेता विजय पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।

देउवा प्रधानमन्त्री बनेपछि बसेको पहिलो सत्ता गठबन्धन बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएनन् ।

राजधानी दैनिकबाट