राजविराज - नयाँदिल्लीको निजामुद्दिनस्थित मुस्लिम धर्मसभामा सहभागी भएका नेपालीहरु सबैलाई दिल्लीमै ‘क्वारेन्टाइन’मा राखिएको परराष्ट्र मन्त्रालयको दाबी झुटो ठहर भएको छ ।

उक्त धार्मिकसभाबाट फर्किएका ६ जना सप्तरीमा फेला परेका छन् ।राजविराज नगरपालिका–४ स्थित मिनि मार्केटअगाडि घर भएका उनीहरुलाई घरबाट नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिएका छन् ।

उक्त सभामा सप्तरीबाट मात्रै दुई दर्जन बढी सहभागी भएको आशंका गरिएको छ । प्रहरीले शंकास्पद अन्यको पनि खोजी तीव्र बनाएको छ ।

गत फागुन ३ देखि ५ गतेसम्म सप्तरीको बोदे बर्साइनमा आयोजना गरिएको मुस्लिम धार्मिकसभामा सहभागी भएकाहरु अधिकांश दिल्लीको तबलिगी सभामा सामेल हुन गएको जनाइएको छ ।

यता, परराष्ट्र मन्त्रालयले भने निजामुद्दिनमा आयोजना गरिएको तबलिगी जमातको सभामा २० जना नेपालीहरु सहभागी भएको र उनीहरु सबैलाई दिल्लीमै क्वारेन्टाइनमा राखिएको दाबी गरेको थियो ।

तर, उक्त सभामा नेपालबाट ठूलो संख्यामा मुस्लिम प्रतिनिधिहरु सहभागी भएको र अधिकांश नेपाल फर्किसकेको आशंका गरिएको छ ।मार्च १ देखि १५ तारिखसम्म निजामुद्दिनको मरकजमा भएको तबलिगी समुदायको सभामा करिब ८ हजारजना सहभागी भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

प्रशासनको आँखा छलेर सभा आयोजना गरिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जनता कर्फ्यु’ घोषणा गरेपछि उनीहरु सभास्थलमै बन्दी भएका थिए । यसलगत्तै भारतभर ‘लकडाउन’ गरिएको थियो भने लकडाउनको केही दिनपछि बल्ल उनीहरुले आफूहरुलाई बाहिर निकाल्न भन्दै प्रशासनलाई पत्र लेखेका थिए ।

दिल्लीमा भेटिएका ९७ संक्रमितमध्ये २२ जना त्यही सभामा सहभागी भएको र तेलंगना राज्यमा कोरानाबाट मर्ने ६ जना पनि सोही सभाबाट फर्केकाहरु भएको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ले जनाएको छ ।