मेगा बैंकको ०७९ को ईक्यालेन्डर सावर्जनिक, छात्रालाई प्राथमिकता
काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले विक्रम संवत् २०७९ सालका लागि ईक्यालेन्डर सार्वजनिक गरेको छ । नयाँ वर्षको क्यालेन्डरमा मेगा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरूलाई मुख्य प्राथमिकता दिएको जनाएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका छोरीहरूको उज्ज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयासस्वरूप मेगा बैंकले ‘शिक्षा नै ज्योति अभियान’अन्तर्गत देशभरका प्रत्येक शाखाबाट दुई/दुई छात्रालाई आर्थिक सहयोगको व्यवस्था गरेको जनाएको छ ।
शिक्षामा बालिकाको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सिर्जना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रम ल्याएको थियो । सामुदायिक विद्यालयहरूमा कक्षा–१ देखि १२ सम्म अध्ययनरत सयौँ छात्रालाई अहिले मेगा बैंकले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।
यो छात्रवृत्तिले शाखा सञ्चालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकका रूपमा स्थापित गरेको र मेगा बैंकले ‘बैंक अफ दी इयर २०१९’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशीला बनेको दाबी बैंकको छ । यसका साथै, सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत विपन्न वर्गका छात्रालाई पढाउनेलगायत सामाजिक कार्य गरेकै कारण मेगा बैंकले गत साता ‘बेस्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दी एयर अवार्ड २०२२’ समेत जितेको बैंकले जनाएको छ ।
नयाँ क्यालेन्डरमा बैंकले छात्रवृत्ति दिइरहेका छात्राहरूको तस्बिर सार्वजनिक गरी उनीहरूलाई प्रोत्साहन गरिएको मेगा बैंककी सीईओ खुञ्जेलीले बताइन् । ‘विपन्न परिवारका यिनै छोरीहरूलाई हामी भविष्यमा मेगा स्टारका रूपमा हेर्न चाहन्छौँ । सोही कारण उनीहरूलाई यसपालिको क्यालेन्डरमा प्राथमिकता दिएर प्रोत्साहन गरेका हौँ,’ उनले भनिन् ।
फेसबुक पेज Like गर्नुहोस