जलविद्युत् आयोजना : कतै धमाधम कतै काम ठप्प
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)बाट उत्पन्न सङ्कटले निम्त्याएको बन्दाबन्दी (लकडाउन) भए पनि कतिपय जलविद्युत् आयोजनामा धमाधम काम भइरहेका छन् । केही भने ठप्प छन् । काम ठप्प भएका आयोजनाले तुरुन्तै काम सुरु नगर्ने हो भने चालू आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएका कतिपय आयोजनालाई कठिन हुने भएको छ ।
चालू आर्थिक वर्षको असार मसान्तभित्र राष्ट्रिय प्रसारण लाइनमा थप एक हजार मेगावाट जोड्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षको हालसम्म सरकारी तथा निजी क्षेत्रबाट १२२ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भइसके पनि एक हजार मेगावाटको लक्ष्यसम्म पुग्न निकै गाह्रो हुने स्थिति छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भने, 'चालू आर्थिक वर्षको यो अवधिसम्म १२२ मेगावाट प्रसारण लाइनमा जोड्न सकिएको छ । लकडाउनको अवस्थामा प्रभावकारी रूपमा काम गर्न नसकिए पनि अझै थप २५० मेगावाटसम्मका आयोजनालाई सम्पन्न गर्न सकिन्छ भन्ने आशा राखेका छौँ । तर एक हजार मेगावाटको लक्ष्य भेट्टाउन भने नसकिने स्थिति उत्पन्न भयो ।'
सचिव घिमिरेका अनुसार निर्माण सम्पन्न हुनै थालेका कतिपय आयोजनामा आवश्यक सामग्री छैन । कतिपय आयोजनामा सामग्री भए पनि कामदारले काम गर्न मानेका छैनन् । सबैतिर मनोवैज्ञानिक त्रास छ । उनले थपे, 'नेपालभित्रको स्थितिलाई त हामीले नियन्त्रणमा लिएर काम गर्न सकिएला; जलविद्युत् आयोजनाका लागि कतिपय यन्त्र, उपकरण भारत तथा तेस्रो मुलुकबाट ल्याउनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा निर्धारित समयमा काम सम्पन्न गर्न गाह्रो हुने स्थिति देखिँदैछ ।'
नेपाल विद्युत् प्राधिकरण र प्राधिकरणका भगिनी संस्थाद्वारा प्रवद्र्धन गरिएका जलविद्युत् आयोजना हुन् वा निजी क्षेत्रबाट प्रवद्र्धन भएका आयोजना हुन्; लकडाउनका कारणले कच्चा पदार्थको उपलब्धता, ढुवानी, कामदारको उपस्थिति, इन्धन उपलब्धता लगायतका समस्याले निर्माणको अन्तिम चरणमा पुगेको जलविद्युत् आयोजनाको काम प्रभावित भइरहेका छन् ।
सरकारले राष्ट्रिय गौरवका आयोजनाको कामलाई असर नपर्ने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन तथा सहजीकरण गरिरहेको भए पनि लकडाउनसँगै उत्पन्न जटिल परिस्थितिले सोचेअनुसार कार्यक्षेत्रमा काम हुन नसकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ । उनले भने, 'जताततै त्रास छाएको छ तर पनि केही जलविद्युत् आयोजनामा हाल पनि सुरक्षित ढङ्गले काम भइरहेको छ, काम रोकिएको त छैन ।'
भौतिक प्रगति हेर्दा ९९.४ प्रतिशत काम सम्पन्न भइसकेको माथिल्लो तामाकोसीमा कोरोना त्रासका कारण काम गर्ने जनशक्तिले मन खुलेर काम गर्न सकेको छैन । निर्माण सामग्री आयातमा सहज नभएकाले पनि समस्या झन् थपिएको छ । तामाकोसी, मेलम्ची लगायतका कामदारको ठूलो समूह काम गर्ने स्थानमा सुरक्षाका सबै मापदण्ड अपनाएर काम सुचारु गर्न सरकारले निर्देशन दिए पनि त्रासले कामदारहरूबीच काम गर्ने वातावरण बन्न नसकेको बताइएको छ ।
यस्तै ४५६ मेगावाट क्षमताको यो आयोजनाकोे पहिलो युनिटबाट आगामी असारसम्म उत्पादन गर्ने लक्ष्य निर्धारण गरी काम भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए । अहिले पनि आयोजनाको काम सञ्चालन भइरहेको बताउँदै उनले भने, 'आउँदो असारसम्म पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन गर्ने लक्ष्यका साथ विदेशी तथा स्वदेशी कामदारलाई ‘कन्भिन्स’ गरेर कामलाई निरन्तरता दिइरहेका छौँ तर पनि यो विश्वव्यापी भाइरलले काम गर्ने वातावरण बन्न सकेको छैन । ' हाल आयोजनामा स्वदेशी तथा विदेशी गरी एक हजारभन्दा बढी कामदारले काम गरिरहेको उनले जानकारी दिए ।
उता आगामी असार मसान्तभित्रै प्रसारण लाइनमा बिजुली जोड्ने लक्ष्यका साथ काम भइरहेको माथिल्लो सान्जेनको काम पनि लकडाउनका कारण प्रभावित भएको छ । चिनियाँ ठेकेदार कम्पनीका प्राविधिकहरू नयाँ वर्ष २०२० मनाउन चीन गएपछि फर्कन सकेका छैनन् ।
सान्जेन जलविद्युत् आयोजना सञ्चालक समितिका अध्यक्ष मनोज सिलवालका अनुसार आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकलको कार्य धमाधम भइरहेको छ । यद्यपि चिनियाँ ठेकेदार कम्पनी नआउन्जेलसम्म इलेक्ट्रोमेकानिकलका काम अगाडि नबढ्ने भएपछि निर्धारित समयभित्रै आयोजना आउनेमा शङ्का हुन थालेको छ । यो आयोजनाबाट १४.८ मेगावाट उत्पादन हुनेछ ।
त्यसैगरी ४२.५ मेगावाटको तल्लो सान्जेनको काममा पनि कोरोना भाइरसको त्रास र लकडाउनका कारण काम खासै हुन सकेको छैन । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा पनि लकडाउनअघि काम द्रुत गतिमा भइरहेको भए पनि पछिल्ला दिनमा सिमेन्ट, रड तथा अन्य अत्यावश्यक सामग्री सकिएपछि कामदारले काम गर्न पाएका छैनन् ।
रसुवागढी जलविद्युत् कम्पनी सञ्चालक समितिका अध्यक्ष माधव कोइरालाले भने, 'आयोजनामा ७५० भन्दा बढी कामदारले अहिले पनि काम गरिरहेका छन् । सिमेन्ट, रड लगायतका सामान सकिएको छ । नेपालभित्रै पनि ढुवानी गर्न असहज भइरहेका बेला भारत तथा तेस्रो मुलुकबाट ल्याउनुपर्ने सामान कहिले आइपुग्छन् भन्ने टुङ्गो छैन । '
करिब ७५ प्रतिशत हाइड्रोमेकानिकल तथा सिभिलतर्फको काम सम्पन्न भइसकेको सो आयोजनाको काम वर्षायामभन्दा अघि नै हेडवक्र्सको काम सकिन्न कि भन्ने चिन्ता व्यक्त गर्दै अध्यक्ष कोइरालाले भने, 'वर्षा लागेपछि हेडवक्र्सको काम गर्न सकिँदैन । त्योभन्दा अघि नै काम सक्न पाए हुन्थ्यो भन्ने हो तर कोरोनाको समस्या झन् जटिल हुँदै गएको छ । '
निर्माणको चरणमा रहेको भोटेकोसी जलविद्युत् आयोजनाको काम पनि लकडाउनकै कारणले प्रभावित भइरहेको छ । कुल १०२ मेगावाटको यो आयोजनाका लागि आवश्यक सामग्री सहज रूपमा आपूर्ति हुन नसक्दा निर्धारित समयमा आयोजनाबाट उत्पादन लिन नसकिने सङ्केत देखा परेको प्राधिकरणले जनाएको छ ।
आवश्यक सामग्रीको अभावमा कामदार भएर पनि काम रोकिएका आयोजनाका लागि सरकारले सामान ढुवानीको व्यवस्था मिलाउने प्रबन्ध गरिरहेको ऊर्जा सचिव घिमिरेले बताए। उनले भने, 'हामीले त्यस्ता आयोजनाका लागि आवश्यक सामान पाउने स्थान, उद्योग, कलकारखानामा आवश्यक सामानको विवरण, सवारी साधन तथा ढुवानी गर्दा लाग्ने समयको बारेमा विवरण सङ्कलन गरिरहेका छौँ । गृह मन्त्रालयसँगको समन्वयमा देशभित्रै पाउने सामान ढुवानी गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ । '
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस