काठमाडौं - एक भारतीय कम्पनीसहित ६ वटा उद्योगहरुले विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेको पाइएको छ ।

औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा एक भारतीय, काठमाडौंका दुई, ललितपुरका एक, काभ्रेका एक, पर्साका एक वटा उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको हो ।

विभागका अधिकारीहरुका अनुसार मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुमा शिविका कसमेटिकल्स् इन्डिया प्राइभेट लिमिटेड, पर्साका आर केमिकल एण्ड प्याकेजिङ इन्डष्ट्री, काभ्रेका कुमकम हर्बल इन्डष्ट्री, ललितपुरका ओम आरोग्य हेल्थकेयर, काठमाडौंका साधना सप्लायर्स,कालिका सप एण्ड केमिकल्स रहेका छन् ।

औषधि व्यवस्था विभागले यी उद्योगहरुबाट उत्पादित ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न भनेको छ ।

विभागका अनुसार यी स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल समावेश भएको पाइएको छ । विषाक्त रसायन मेथानोलले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । विभागका अनुसार स्यानिटाइजरमा इथानोल बाहेकका अन्य केमिकल प्रयोग गर्न पाइँदैन । विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुलाई कारबाहीको प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।