काठमाडौं-देश जोगाउन भन्दै मंसिर ७ गतेबाट आन्दोलनको घोषणा गरेका मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिमा आउन आग्रह गरेका छन् ।

अन्तरिम सरकारविरुद्ध आन्दोलन घोषणा गरेका प्रसाईंको समूहले सरकारसमक्ष राखेको २७ बुँदे माग बुझ्दै गृहमन्त्री अर्यालले प्रसाईलाई राजनीतिमा आउन भन्दै सुझाव पठाएका हुन् । गृहमन्त्रीलाई भेट्न प्रसाईं सिंहदरबार नआएपछि उनले सुझाव पठाएका हुन् ।

आज गृहमन्त्रालयमा पुगेको प्रसाईंको समूहले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष २७ बुँदे माग राखेको छ । माग पत्र बुझेपछि गृहमन्त्री अर्यालले प्रसाईलाई चुनावमा जान सुझाएका हुन् ।

मागपत्र बुझ्दै अर्यालले महाअभियानका संयोजक प्रसाईंलाई राजनीतिक दल दर्ता गरेर फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा होमिन सुझाएका हुन् ।

प्रसाईं नेतृत्वको महाअभियानले बुधबार गृह मन्त्रालयमा पुगेर राखेका विभिन्न २७ बुँदे मागबारे सुनेपछि अर्यालले यस्तो सुझाव दिएका हुन् ।

प्रसाईंका माग राजनीतिक प्रकृतिका रहेका बताउँदै गृहमन्त्री अर्यालले राजनीतिक माग पूरा गराउन पार्टी दर्ता गरेरै निर्वाचनमा जान सुझाएका हुन् ।

यद्यपी गृहमन्त्री अर्यालले शान्ति प्रक्रिया र सुशासनका सन्दर्भमा राखिएका माग पूरा गर्न सरकार सकारात्मक रहेको जवाफ दिएका थिए ।

प्रसाईंले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाका लागि जनमत सङ्ग्रह गर्नुपर्ने, प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र र १४ अञ्चल ल्याउनुपर्ने माग गरेका छन् ।