काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे सरकारले चालेको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

नेकपाले शनिबार विज्ञप्ति जारी गरेर भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा मन्त्रिपरिषदको पहिलो बैठकबाट सरकारले चालेको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

नेकपाका गणेशमान पुनद्वारा जारी विज्ञप्तिमा सरकारले कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नर्गन र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुन नदिन आग्रह गरिएको छ। 

पार्टीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएको र उनको नेतृत्वमा मन्त्रिपरिषद गठन भएकोमा बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेको छ। 

सरकारको शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले कार्की आयोगले दिएको सुझाव अनुसार राजनीतिक नेतृत्वहरूलाई कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

सो निर्णयलगत्तै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता तथा तत्कालिन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।