ओखलढुङ्गा - जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् ।  सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ ।

पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए। किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको उनको भनाइ छ ।

मङ्गलबार घाँस काट्न गएकी किशोरीलाई प्रहरी जवान यादवले जङ्गलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ ।

यादवले करणी गरिरहेका बेला किशोरीका बुबाले देखेपछि घटना बाहिर आएको हो । प्रहरीले जङ्गलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घेराउ गरेका थिए । चौकी तोडफोडको स्थिति आएपछि पीडित र आरोपित प्रहरीलाई जिल्ला झिकाइएको थियो ।

किशोरीले आफूलाई इच्छाविपरीत पटक–पटक यादवले करणी गरेको भनी किटानी दिएकी छिन् । महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी हुन् । यादवले यसअघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि उक्त किशोरीलाई आश्वासन दिएर यौन सम्पर्क राखेको खुलेको छ ।