काठमाडौं - विदेशमा रहेका नेपालीले पठाउने रकम (विप्रेषण) बढेर चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै ७ खर्ब रुपैयाँ नाघेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ विप्रेषण भित्रिएको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशतले बढी हो ।

विप्रेषण आप्रवाह बढे पनि यसको वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा सुस्त भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो । यस वर्ष रकम बढे पनि वृद्धिदरमा ८.२ प्रतिशत बिन्दुले गिरावट आएको छ ।

राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । गत वर्षको असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ भित्रिएको थियो । यसअनुसार एक वर्षमै असोज महिनाको विप्रेषण आप्रवाह ६६ अर्ब १२ करोड रुपैयाँले बढेको छ ।

अमेरिकी डलरमा हिसाब गर्दा पनि विप्रेषण आप्रवाह बढेको देखिन्छ । समीक्षा अवधिमा डलरमा विप्रेषण आप्रवाह १६।७ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि २९।२ प्रतिशत थियो । अर्थात् नेपाली रुपैयाँमा विप्रेषण २७.२ प्रतिशतले बढ्दा अमेरिकी डलरमा भने १६.७ प्रतिशतको मात्रै वृद्धि देखिएको छ ।

यस अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ थियो ।

विप्रेषण बढिरहँदा वैदेशिक रोजगारीमा जाने नेपालीको नयाँ श्रम स्वीकृति लिने संख्या भने घटेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख २१ हजार ८७९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ लाख २३ हजार ४५९ थियो ।

तर, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेको छ । समीक्षा अवधिमा ८२ हजार ३६९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७ हजार २५७ थियो ।

यसले नयाँ श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या केही घटे पनि वैदेशिक रोजगारीमा पुनः जानेको संख्या बढेको देखाउँछ । समग्रमा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि कायम रहे पनि अघिल्लो वर्षको तुलनामा यसको वृद्धिदर भने खुम्चिएको छ ।