राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए युक्रेनको पक्षमा
काठमाडौं - संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । रुस-युक्रेन युद्ध जारी रहेका बेला न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा बुधबार राति भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो।
राष्ट्रसंघको महासभामा युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएको थियो । जसमा राष्ट्रसंघ महासभाका १९३ सदस्य देशमध्ये नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका छन् भने विपक्षमा पाँच देशले मतदान गरेका छन् ।
भारत, चीनसहित ३४ मुलुक भने मतदान प्रक्रियामा सहभागी भएनन्। यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्मा पनि भारत र चीन तटस्थ बसेका थिए । रुससँग रणनीतिक सम्बन्ध रहेका यी मुलुक रुसलाई चिढ्याउने पक्षमा छैनन् ।
नेपालले भने यसअघि राष्ट्रसंघीय मानव अधिकार परिषद्मा पनि युक्रेनको पक्षमा मतदान गरेको थियो। परिषद्मा ४७ देश सदस्य छन्। अमेरिका र उसका गठबन्धनमा रहेका मुलुकले रुसको कडा विरोध गर्दै युक्रेनका पक्षमा वकालत गरिरहेका बेला नेपाल पनि सहभागी भएको हो।
रुसी सेना युक्रेनविरूद्ध थप आक्रमक बन्दै गएकाे छ । सयाैँ युक्रेनी सेना र सर्वसाधारणकाे हताहत भएकाे छ भने हजाराैँ घाइते भएका छन् । रुसी सेनाले युक्रेनकाे राजधानी किभ, खेरसन र खार्किभ जस्ता ठूला शहर नियन्त्रणमा लिएकाे दाबी गरिसकेकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस