काठमाडौं - नेकपा एमालेको अध्यक्ष केपी ओलीले नेपाली कम्युष्टि पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजकद्वय माधवकुमार नेपाल र झलनाथ खनालले गरेको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले
आफ्नो पार्टीको नीति सही भएको जिकिर गरेका हुन्।
एकताको लागि पार्टीको नीतिबारे छलफल गर्ने पक्षमा आफू नरहेको प्रस्ट पार्दै ओलीले भने–‘हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन। हामीले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक अनेक पक्षमा सही नीति निर्धारण गरेका छौँ।’
उनले जबजलाई समयाअनुकुल बनाउँदै लैजाने पनि बताए । पार्टीको उद्देश्य चुनावदेखि चुनावसम्मको मात्रै नभएको जिकिर गर्दै उनले भने–‘यस अवस्थादेखि समृद्धिसम्म हाम्रो यात्रा हो। हाम्रो यात्रा समृद्ध नेपाल सुखी नेपालीसम्मको हो। हाम्रो गन्तव्य ठिक छन्।’
यद्यपि, उनले प्रतिगमनलाई पराजित गर्नको लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिल्नुपर्ने मत भने राखे ।
कार्यक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ बारे पनि बोले । ओलीले प्रधानमन्त्री शाहको विवादित अभिव्यक्ति अझै खण्डन नभएको भन्दै आपत्ति जनाए ।
चितवनमा गएर बोल्दैमा खण्डन नभएको भन्दै उनले भने–‘अस्ति चितवनमा गएर लिपुलेक, कालापानी हाम्रो हो भनेपछि हामीले थुप्रै ठाउँमा सीमा मिचेका छौँ भन्ने अभिव्यक्तिको खण्डन भो भन्ने विद्वानहरू फेरि निस्किए। कहाँ खण्डन भो ? लिपुलेक, कालापानी नेपालको हो भन्ने कुरा एउटा कुरा हो। त्यो बेग्लै कुरा हो। त्यस सम्बन्धमा त संसद्मा विवाद भएको होइन। विवाद भएको, नेपालले थुप्रै ठाउँमा भारतको सिमाना मिचेको छ, भूमि मिचेको छ भन्ने कुरामा विवाद भएको हो, जुन कुरा खण्डित छैन, खण्डन गरेको छैन।’
उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अरू मन्त्रीले लटपट गरेर जवाफ दिएर खण्डन नहुने बताए । उनले भने–‘यस प्रतिगमनलाई रोक्नका निम्ति सबै वामपन्थी शक्तिहरू, सबै लोकतान्त्रिक शक्तिहरू मिलेर अघि बढ्नुपर्छ। अब संविधान संशोधन गर्दा पनि देश र जनताको पक्षमा हुनुपर्दछ। झन्डै दुई तिहाइ भनेका भरमा देश विरुद्धको गतिविधि गर्न रोक्नुपर्दछ ।
ओलीले जनता असन्तुष्ट हुनुपर्ने गरी आफूहरूले कुनै नराम्रो काम नगरेको दावी गरे । जनतामा भ्रम छरिएको दावी गर्दै उनले भने–‘हामीहरूमाथि अनेक प्रकारका आरोपहरू गढिए। जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी, कुनै नराम्रो काम गरेकै छैनौँ। हाम्रा कमीहरू रहे, कतिपय कमीहरू रहे, कमजोरीहरू रहे, हामी आत्मसमीक्षा गरौँला, तर हामीले देश बर्बाद पार्यौँ भन्ने भाष्य गलत हो। बर्बाद पारेनौँ, अगाडि बढायौँ।’
आफूहरूले विकास निर्माणको काम अघि बढाएको दावी गर्दै उनले भने–‘हामीले गलत काम गरेर, देशका विरुद्ध काम गरेर, जनताका विरुद्ध काम गरेर, विकासका काम गर्न नसकेर, अयोग्य भएर जनतामा असन्तुष्टि, युवाहरूमा असन्तुष्टि बढेको होइन। झूटा प्रचारहरू गरिएको हो। हामीविरुद्ध अफवाह फैलाएर हामीलाई बदनाम गरियो।’
यसअघि प्रचण्ड, नेपाल र खनालले कम्युनिष्ट दलहरुबीच तत्काल एकताको खाँचो रहेको बताएका थिए । उनीहरुले अब पनि कम्युनिष्टहरु एक नभए भयानक दुर्घटना हुने बताएका थिए ।

.gif)


