काठमाडौं - प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’ निवारण (तेस्रो संशोधन), विधेयक २०८३’ लाई विचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत भएको छ।

अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेस गर्दा विधेयक स्वीकृत भएको हो।

अर्थमन्त्री स्वर्णिम वाग्लेले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री वाग्लेले अन्तर्राष्ट्रिय जगतले  नेपालको सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई सुक्ष्म रूपमा अध्ययन गरिरहेकाले यसप्रकारको ‘कालो धब्बा’बाट नेपाल बाहिर निस्कने चुनौतीको सामना गर्न कानुनी संशोधन गरिएको स्पष्ट गरे।

छलफलमा सांसदहरू विश्वराज पोखरेल, विदुषी राणा, पारसमणि गेलाल, आरेन राई, चन्द्रमोहन यादव र गीता गुरूङले भाग लिएका थिए।