काठमाडौं - प्रतिनिधि सभा विघटनको विरोधमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माइतिघरमा जारी धर्नामा सहभागी भएका छन् । केही दिन उपत्यका बाहिरको विरोध र्याली तथा सभामा उपस्थित भएका अध्यक्षद्वय आज माइतिघरमा जारी धर्नामा सहभागी भएका हुन् । 

प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भएको दाबी गर्दै उक्त समूह तेस्रो चरणको आन्दोलनमा छ । यसै अन्तर्गत यो समूहले माइतिघरमा दैनिक रुपमा धर्ना दिँदै आइरहेको छ । धर्नामा अध्यक्षद्वयसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ, बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्य, नेतृ पम्फा भुसाल, विघटित प्रतिनिधि सभा सदस्य राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्यहरु सहभागी छन् ।

यो समूहले माघ १४ गतेदेखि दैनिक रुपमा माइतिघरमा भर्ना दिँदै आएको छ । माइतिघरको धर्ना २१ गतेसम्म जारी रहनेछ । 

त्यस्तै, यो समूहले माघ २२ गते काठमाडौँमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र माघ २८ गते काठमाडौंमा मसाल जुलुस र सभा गर्ने कार्यक्रम तय गरेको छ ।