दार्चुला - दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् ।

शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका-४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

उनी बाथरुममा लडिरहेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल दार्चुलामा लगिएको थियो । त्यहाँ पुग्दा डाक्टहरूले मृत घोषणा गरेको इन्स्पेक्टर जोशीले बताए । दार्चुलाका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टका अनुसार उनको नाक र मुखबाट रगत बगेको थियो ।

सई रावलको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।