काठमाडौं - भारतले अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित कोरोना भ्याक्सिन कोभिडशील्ड खोपको निर्यातमा रोक लगाएको छ । 

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकाले खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको विदेशमन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

अप्रिल १ देखि ४५ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउने तयारी गरेको भारतले कोभिड-१९ को दोस्रो लहर रोक्न पनि भ्याक्सिन बढाउने योजना बनाएको छ । साथै निर्यातका लागि यसअघि नै माग गरिएका देशमा पनि भ्याक्सिन पठाउन ढिला हुने बताइएको छ । 

यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना छ। हालैका दिनमा त्यसको मारमा यूके र ब्राजिल परेका छन्। भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड-आस्ट्राजेनेकाकै खोप परेको छ।

पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरस तिव्र रुपमा फैलिएको छ । यो वर्ष सबैभन्दा धेरै सङ्क्रमित सङ्ख्या बुधवार देखिएको थियो । जसमा ४७,००० भन्दा बढी नयाँ सङ्क्रमित छन् भने २७५ को मृत्यु भएको छ। भारतीय सरकारले जनवरी १६ तारिखबाट खोप कार्यक्रम सुरु गरेको थियो र अहिलेसम्म दोस्रो लहर आउनसक्ने आशङ्कामाझ ४ करोड ७० लाख मानिसलाई खोप लगाइसकेको छ।

नेपाल पनि प्रभावित 

भारतले पहिलो चरणको खोप अभियानका लागि नेपाललाई १० लाख डोज कोभिशील्ड खोप अनुदामा उपलब्ध गराएको थियो । उक्त खोप आएसँगै नेपालमा गत १४ माघदेखि खोप लगाउने अभियान चलाएको थियो । त्यसपछि पनि १० लाख डोज खरिद गरिएको खोप ल्याइसकिएको छ । नेपालले भारतबाट थप ५० लाख डोज खोप किन्ने प्रक्रिया अगाडि बढाएको थियो । तर, अब खरिद प्रक्रिया नै रोकिएको छ ।