काठमाडौं - बुधबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।

बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। साथै बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।