चितवन - कोरोना भाइरस (कोभिड –१९ ) को सम्भावित जोखिमले विरामी सकेसम्म अस्पताल जान चाहदैनन् । सो जोखिमले रोग पालेर बसिरहँदा दीर्घरुपमा समस्या पर्न सक्ने भन्दै चिकित्सकले अहिले वढी सजग हुन सुझाव दिएका छन् ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी कोरोनाको डर हृदयघात भन्दा चर्को जस्तो देखिएको बताउछन् । उनले भने ‘गत वर्षहरुमा यो समयमा करिव २० जना हृदयरोगका विरामी उपचारका लागि आउने तथ्याङ्क छ । तर अहिले दुई जना पनि आउँदैनन् ।’ टेलिफोन गरेर सोधपुछ गर्ने भए पनि रोग पालेर बसेका छन् की भन्ने चिन्ता हुन थालेको डा अधिकारीको भनाई छ ।

उनले घरमानै बसेर परामर्शमा औषधि खाएर हुने बाहेक सम्भावित जटिल हुन सक्ने खालका विरामीलाई अस्पताल आउन आग्रह गरे । डा अधिकारीले भने ‘अस्पताल आउनै पर्ने विरामीले डर मान्नुपर्दैन । उच्च जोखिमका रोग पालेर बस्नुहुँदैन ।’

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार गएको आठ दिनमा जिल्लाका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा ३ हजार ८२९ जना विभिन्न रोगका विरामीले सेवा लिएका थिए । ती मध्ये ८५० जना ज्वरोका र ६२ जना रुघाघोकिका रहेका थिए । गतवर्ष यतिवेला जिल्लाका अस्पतलाहरुमा ७ हजार भन्दा बढि विरामीले सेवा लिएका थिए ।

जिल्लामा केन्द्रीयस्तरको भरतपुर अस्पताल, २ नीजि मेडिकल कलेज, २० नीजि अस्पताल, ३ सरकारी अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, २५ वटा ग्रामिण शहरी स्वास्थ्य केन्द्र र ५ वटा सामुदायिक इकाई रहेका छन् । प्रमुख तिवारीले घरबाटै चिकित्सक तथा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने काम भइरहेको र अस्पताल आउन डर मानेर पनि विरामी नआएको हुन सक्ने बताउछन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल गतबर्ष यस समयमा  दैनिक १ हजार ५ सय भन्दा वढि विरामी आउने गरेको भए पनि शुक्रबार १५० जना बिरामी मात्र आएको बताउछन् । त्यति नै सङ्ख्यामा बिरामी आउने चितवन मेडिकल कलेजमा शुक्रबार करिव एकसय जना मात्र विरामीले सेवा लिएका थिए ।

कलेजका निर्देशक डा. दयाराम लम्सालले चिकित्सकले सेवा जारी राखेको जानकारी दिँदै लकडाउन पछि त विरामी नै आउन छाडेको बताउछन् । उनि जटिल रोगका बिरामीलाई घरमा नै रोग पालेर नबस्न आग्रह गर्छन् ।

भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेले चिकित्सकले आफ्नो सेवा निरन्तर जारी राखेको बताउछन् । टेलिफोनमा बुझेर अस्पताल आउनै पर्नेलाई ढुक्कसंग आउन उनले आग्रह गरे ।

नेपाल चिकित्सक सङघ चितवनका अध्यक्ष एवम् बरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडा पुराना रोगहरु मधुमेह, उच्च रक्तचाप, थाइराइड, दम जस्ता समस्यामा सम्बन्धित चिकित्सकसंग परामर्श गरेर औषधि प्रयोग गर्न सुझाब दिन्छन् । दम बढ्यो, अन्य कारणहरुले उच्च ज्वरो आउँदा अस्पताल आउनै पर्ने बताउछन् । ज्वरो कोरोनाका कारण मात्र नभए डेंगु, मलेरीया, स्क्रबटाईफस, हेपाटाईटिस जस्ता कारणले पनि हुने भएकाले कारणको खोजि गर्नु पर्ने उनको भनाई छ ।

नेपाल पत्रकार महासङघका अध्यक्ष राधेश्याम खतिवडा भ्रमका कारण जोखिम बढेको बताउछन् । ‘बाहिर सर्बसाधारणमा चिकित्सकले बिरामी छुदैंनन्, अस्पतालले भर्ना लिदैनन् र ढोकाबाटै फर्काउँदछन्’ भन्ने हल्लाका कारण विरामी अस्पताल नआउने गरेको उनको भनाई छ ।

जिल्लाभित्र उत्पादन भएका तरकारी बिक्री वितरण गर्न माग

जिल्लाको तरकारी तथा फलफूललाई नै बिक्री वितरणमा प्रवर्द्धन गर्न माग गरिएको छ । लकडाउनको समयमा पनि भारतबाट तरकारी लिएर सवारी साधन आइरहेका र त्यस्ता सवारी साधनले कोरोना भाइरसको सम्भावित जोखिम वढाएको भन्दै व्यवसायिले सो माग गरेका हुन् ।

उद्योग बाणिज्य सङ्घका अध्यक्ष राजु श्रेष्ठले रातको समयमा दैनिक भारतीय तरकारी लिएर सवारी साधन आइरहेको जानकारी दिए । उनले ती साधनले कोरोनाको जोखिम बढाएको हुँदा जिल्लाकै कृषकले बारीमा फलाएको तरकारी बिक्रीको व्यवस्था मिलाउन माग गरे ।

फलफुल तथा तरकारी थोक व्यवसायी सङ्घका अध्यक्ष मदन सापकोटाले भारतीय तरकारी रोक्ने र सामाजिक दूरी कायम गर्न स्थानीय प्रशासनले सहयोग गरेमा जिल्लाको तरकारी बिक्री गर्न सकिने बताए । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले भारतीय तरकारीका सवारी साधनलाई रोकिएको जानकारी दिए ।