काठमाडौं - काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा सोमबारदेखि पठनपाठन सुरु हुने भएको छ। 

महानगरपालिकाले शनिबार सूचना जारी गरेर सोमबारदेखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्श सँग-सँगै अध्ययन अध्यापन गर्ने गराउन निर्देशन दिएको हो। सबै शिक्षक तथा कर्मचारीहरु आइतबारदेखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउन आग्रह गरेको छ।

अभिभावकले आफ्ना विद्यार्थी विद्यालयमा ल्याउने लैजाने गरी जिम्मा लिएमा र परिस्थिति पनि सामान्य देखिएमा त्यस्ता विद्यार्थीलाई सोमबारदेखि विद्यालयमा अध्यापन गराउन महानगरले अनुरोध गरेको छ। विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षा मार्फत सहजिकरण गर्न सकिने छ।

महानगरका अनुसार आइतबार विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाई सम्बद्ध कार्यहरु गर्ने, विद्यालयमा कुनै प्रकारको क्षति देखिएमा काठमाडौं महानगरपालिकामा सोको विवरण उपलब्ध गराउने, विद्यार्थीका अभिभावकहरूसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने, अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न आग्रह गरेको छ।