काठमाडौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।

आइतबार साँझ झन्डै साढे दुई घन्टाको छलफलपछि प्रधानमन्त्री निवास बालुवाटारबाट अध्यक्ष प्रचण्ड बाहिरीएको स्रोतले बताएको छ । आजको दुई अध्यक्षबीचको वार्तामा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।  आइतबारको छलफलमा दुवै अध्यक्षबीच के कुरा भयो भन्नेबारे बताइएको छैन । 

शनिबार दुई अध्यक्षबीचमा मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको थियो । प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा अर्ली महाधिवेशन मंसिरमा गर्ने प्रस्तावमा प्रचण्ड पनि सकारात्मक देखिएका थिए । जसमा वरिष्ठ नेता माधवकुमार नेपालको पक्षले विरोध गरेका थिए । प्रचण्डले आइतवार बिहान वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाललगायत पार्टीका प्रभावशाली नेताहरूसँग छलफल गरेका थिए ।

प्रचण्ड र नेपाल समूहले सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै ओलीको राजीनामा मागेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री ओलीले भने तत्काल दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याउँदै आएका छन् । दुवै पक्षको अडानकै कारण लामो समयदेखि नेकपा विवादको निष्कर्ष निस्कन सकेको छैन । जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पनि ६ गतेसम्मका लागि स्थगन गरिएको छ।