काठमाडौं - सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई तत्काल सकुशल उद्धार गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिई तत्काल सकुशल उद्वार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ’ प्रवक्ता कार्कीले भने । 

अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय बिद्रोही तालिवानीले कब्जा गरेपछि त्यहाँँ रहेका विदेशी धमाधम स्वदेश फर्किन थालेका छन् भने अप्ठ्यारामा परेका आफ्ना नागरिकलाई विभिन्न देशले उद्धार गरी स्वदेश फर्काइरहेका छन् । 

त्यस्तै, भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका बाँकी रहेका समस्या सम्बोधन गर्न माग गर्दै बेलायतको लण्डनमा जारी आमरण अनशनमा नेपाल सरकारको ध्यानाकर्षण भएको प्रवक्ता कार्कीले बताए।