काठमाडौं - प्रधानमन्त्री एवम् नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपचुनाव लड्न प्रस्ताव गरेका छन् ।

यसअगाडि सचिवालय सदस्यले आफैं इच्छा राखेर चुनावमा लड्ने चासो देखाएका थिए । तर ओलीले त्यसबेलामा प्रस्ताव गरेको भने थिएनन् ।

बालुवाटार स्रोतका अनुसार केही दिन अगाडि बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेता गौतमलाई रवीन्द्र अधिकारीको निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्रबाट चुनाव लडन् प्रस्ताव गरेका हुन् ।

‘पार्टीले जिताउने पूरै कोशिष गर्छ । र, त्यो सम्भव पनि छ,’ प्रधानमन्त्री ओलीले गौतमलाई भनेको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘तपाईं कास्कीबाट चुुनाव लड्नुस् ।’

तर, प्रधानमन्त्री ओलीको प्रस्तावमा गौतमले अन्तिम निर्णय नदिइसकेको स्रोतको भनाई छ । ‘पार्टी र रवीन्द्र अधिकारीको परिवारका सदस्यले निर्णय गरे मात्रै चुनाव लड्न सकिने मनस्थितिमा उँहा भएको देखिन्छ । तर हुन्छ, म चुनाव लडुछु, भन्ने उहाँको निर्णय आएको छैन,’ प्रधानमन्त्री ओली निकट स्रोतले जनाएको छ ।