काठमाडौं - काठमाडौंको गौशालामा एउटै नम्बर प्लेटका दुई पल्सर मोटरसाइकल भेटिएका छन्।

बुधबार बिहान गौशाला चोकमा ट्राफिक लाइटमा परेर रोकिएका दुई वटा पल्सर मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर लेखिएको स्पष्ट देखिन्छ । दुवै मोटरसाइकलमा रेनकोट ओढेका व्यक्ति सवार थिए । 

कामविशेषले चाबहिलतर्फ जाँदै गरेका अर्का व्यक्ति प्रदीपजंग कार्कीले सो तस्वीर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले भाइरल भएको छ । 

साथै उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान थालेको छ ।  ट्राफिक प्रहरीका प्रवक्ता सञ्जीवदास शर्माका अनुसार जहाँ पनि त्यो नम्बर प्लेटका मोटरसाइकल देखिए नियन्त्रणमा लिन तीनवटै जिल्लामा निर्देशन दिइसकिएको छ ।