काठमाडौं - आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो २१ वर्ष पुरा गरेको छ । विस २०५७ साल माघ १९ गते एनबी इन्स्योरेन्स कम्पनीको रुपमा स्थापना भई आईएमई जनरल इन्स्योरेन्स कम्पनीबाट अहिबी बीमासेवा प्रवाह गरिरहेको यो कम्पनी आजबाट २२औँ वर्षमा प्रवेश गरेको हो ।

एनबी ग्रुप मुख्य प्रबद्र्धक रहेको यो कम्पनीलाई करिब एक दशक अगाडि आईएमई ग्रुपले ठूलो हिस्सा शेयर खरिद गरेपछि २०७४ मंसिर ७ मा नाम परिवर्तन गरी आईएमई जनरल इन्स्योरेन्स कम्पनी बनेको थियो । कम्पनीले स्थापनाको २२ औं वर्षमा प्रवेश गरेको अवसरमा अझै उत्कृष्ट सेवा प्रवाह गरेर आम सर्वसाधारणमा बीमा सेवालाई अझै सरल र सहज पहुँच पुर्याउने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले २२ औं बार्षिकोत्सवको अवसरमा कम्पनीलाई प्रविधिमैत्री बनाई आम जनतालाई सरल रुपमा बीमा सेवा प्रवाह गर्ने, बीमाको पहुँच बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ ।

बीमितलाई स्तरीय सेवा, शेयर लगानीकर्ताहरुलाई अधिकतम् प्रतिफल दिँदै जनताको सम्पत्ति, सवारी साधन, पशुधन तथा बाली लगायतको जोखिम रक्षा वरण गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले २१ औं बार्षिकोत्सवको अवसरमा आज देशैभरिका शाखामाहरुमा नविन कार्यक्रम गरेर मनाउने योजना बनाएको छ । यद्यपि कोरोना भाइरसको संक्रमणको कारण शुभकामना आदान प्रदानलगायतका कार्यक्रम गरिनेछ ।

२२ वर्षसम्मको यात्रामा आईपुग्दा कम्पनीले बार्षिक एक अर्बभन्दा बढि बीमा व्यवसाय गर्दै आएको छ । कोरोना महामारीका बीचमा पनि कम्पनीले प्रभावकारी बीमा सेवा प्रवाह गर्दै आएको छ । कूल चुक्ता पुँजि एक अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले गत आवमा २३ करोड ४६ लाख ४० हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीले लगानीकर्ताहरुलाई अधिकतम् प्रतिफल दिन सफल भएको छ भने कृषि तथा पशु बीमामार्फत न्यून आय भएका आम सर्वसाधारणलाई जनताको जोखिम रक्षावरण गर्दै आएको छ ।