सर्लाही - सर्लाहीको गौडेता नगरपालिका–१० मा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी रविन्द्र पौडेलका अनुसार शुक्रबार ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्।

एसपी पौडेलले भने, "उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। अवस्था गम्भीर भएकाले उपचारका लागिहेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ।"

घटनापछि गम्भीर घाइते भएका मण्डललाई तत्काल उद्धार गरी उपचारको व्यवस्था गरिएको छ। उनको थप उपचारका लागि हेलिकोप्टर बोलाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले यस्तो कदम किन चाले भन्ने कारण अहिलेसम्म खुल्न सकेको छैन।

अहिले प्राथमिकता घाइतेको उपचारमा केन्द्रित रहेको र घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको एसपी पौडेलले जानकारी दिए।