काठमाडौं -  इरानले ओमानसँगको सहकार्यमा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ भएर जाने ढुवानी रुटबारे सहमति भएको दाबी गरेको छ। यद्यपि, अमेरिकी नौसेनाको नाकाबन्दीका कारण पारवहन पूर्ण ग्यारेन्टी नदिने इरानले चेतावनी दिएको छ।

इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँगको सहमतिअनुसार नयाँ रुटको भौगोलिक अवस्थिति तय भइसकेको जानकारी दिएको बीबीसीले जनाएको छ। इरानको आधिकारिक समाचार संस्था ‘इर्ना’का अनुसार यो सहमति अन्तिम चरणमा छ। 

त्यस्तै, इरानका उपविदेशमन्त्री काजिम घरिबाबडीले यो नयाँ रुट अस्थायी प्रकृतिको हुने र दुईदेखि चार महिनासम्म खुला रहन सक्ने बताए। यद्यपि, यस विषयमा ओमान र संयुक्त राज्य अमेरिकाले भने अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया दिएका छैनन्।

फेब्रुअरीको अन्त्यदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता हर्मुज स्ट्रेटबाट हुँदै आएको विश्वको करिब एक–पाँचौं हिस्सा तेल र एलएनजीको कारोबार लगभग ठप्प छ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र उतारचढाव आएको छ।