काठमाडौं - सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत अनुदान सहयोगमा मात्र सीमित नराखी लगानी र आर्थिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

अमेरिकी तल्लो सदनको वेज एन्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलसँग सोमबार भएको शिष्टाचार भेटमा सभामुख अर्यालले नेपालमा लगानीमैत्री वातावरण निर्माण तथा लगानीकर्ताको मनोबल उच्च राख्न आवश्यक नीतिगत र कानुनी सुधारका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका हुन्।

सभामुख अर्यालको सचिवालयका अनुसार भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्यलगायत साझा चासोका विषयमा विचार आदानप्रदान भएको थियो।

भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्दै कठिन घडीमा अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद दिए।

उनले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको ‘जलवायुसम्बन्धी विपद्को सामना गर्न तथा हिमालय क्षेत्र र अन्य जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल’ विषयक आपत्कालीन एजेन्डा दुई तिहाइभन्दा बढी मतसहित पारित भएको जानकारी गराए।

जलवायु परिवर्तनका कारण विपद्को उच्च जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद् पूर्वतयारी र उत्थानशीलता सुदृढ गर्न अन्तर्राष्ट्रिय तथा अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

जलवायुसम्बन्धी विपद्को सामना गर्न अनुदानमा मात्र निर्भर नभई आर्थिक तथा प्राविधिक क्षमता भएका राष्ट्रले जिम्मेवारीपूर्वक सहकार्य र सहयोग गर्नुपर्ने धारणा पनि सभामुख अर्यालले राखे।

नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक साझेदारीतर्फ अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले अमेरिकी संसद्मा रहेका संसदीय ककस तथा नेपाल–अमेरिका संसदीय मैत्री समूहबीच निरन्तर संवाद र सहकार्य अघि बढ्ने विश्वास व्यक्त गरे। संसदीय भ्रमण तथा आदानप्रदानले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र संसदीय कूटनीति प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

भेटमा अमेरिकी संसदीय प्रतिनिधिमण्डलले भोटेकोशी बाढीबाट नेपालले भोग्नुपरेको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो। साथै, शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गरेको थियो।

प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले समृद्ध नेपाल भ्रमणले आफूहरूलाई नयाँ ऊर्जा थपेको उल्लेख गर्दै प्रतिनिधिमण्डलले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध सुमधुर र विश्वासमा आधारित रहेको बताएको थियो।

प्रतिनिधिमण्डलले नेपालको आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासमा निरन्तर सहयोग गर्न र दुई देशबीचको संसदीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन आफूहरू इच्छुक रहेको धारणा व्यक्त गरेको थियो।

भेटमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र संसदीय सुनुवाइ समितिका सभापतिसमेत सहभागी थिए।