जेनजी आन्दोलनमा षड्यन्त्रकारी घुसपैठ, गोली हान्ने आदेश सरकारले दिएको होइन : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा हिंसा मच्चाउने काम षड्यन्त्रकारी घुसपैठकर्ताले गरेको आरोप लगाएका छन्।
संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको प्रष्ट पारे।
गत हप्ताको आन्दोलनपछि असामान्य परिस्थितिका कारण राजीनामा दिएर सैनिक सुरक्षामा बसेका ओली मंगलबार मात्रै डेरामा सरेका थिए।
सन्देशमा उनले भने, ‘जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनमा घुसपैठ भयो। षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको छ, त्यसको छानबिन हुनु पर्दछ।’
दिवंगत युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे। ओलीले आफ्नो सन्देशमा संविधानको महत्व स्मरण गराउँदै अहिले नेपालको सार्वभौमसत्तामाथि ठूलो आक्रमण भएको टिप्पणी गरे।
‘प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइयो, नेपालको नक्सा जलाइयो, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान, दलका कार्यालय र नेताकार्यकर्ताका घरमा आगजनी भयो। यो केवल आकस्मिक घटना होइन, योजनाबद्ध षड्यन्त्र हो,’ उनले भने।
उनका अनुसार नेपालको संविधान नेपाली जनताले आफैंले लेखेको भविष्य रेखा हो, जसले लोकतान्त्रिक गणतन्त्र र सङ्घीय समावेशी व्यवस्था सुनिश्चित गरेको छ। उनले नाकाबन्दीविरुद्धको ऐतिहासिक संघर्ष स्मरण गर्दै संविधानलाई स्वतन्त्रताको कवच र सार्वभौमसत्ताको आधारका रूपमा व्याख्या गरे।
नयाँ पुस्ताले अहिले भइरहेको घटनाबाट वास्तविकता बुझ्ने दिन आउने विश्वास व्यक्त गर्दै ओलीले भने, ‘देश बनिरहेको थियो कि बिग्रिरहेको थियो भन्ने कुरा समयले आफैं प्रस्ट पार्नेछ।’
सन्देशको अन्त्यमा उनले सबै पुस्ताका नेपालीलाई एकजुट भएर संविधानको रक्षा गर्न र सार्वभौमसत्तामाथि भएको प्रहारको सामना गर्न अपील गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस