धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले नेकपा (बहुमत)का महासचिव धर्मेन्द्रराज बास्तोलालाई रिहा गर्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिहाइको आदेश दिएको गरेको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा फागुन ५ गते बास्तोला पक्राउ परेका थिए।
उनको पक्राउविरुद्ध सावित्रीकुमारी वलीले फागुन १० गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइ बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
सर्वोच्चले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका नाममा रिहाइको आदेश जारी गरेको हो । सर्वोच्चको आदेशपछि बास्तोलाको रिहाइ प्रक्रिया सुरु भएको छ ।
उता, नेपाल कम्युनिस्ट पार्टी ९बहुमत०का दुई जना कार्यकर्तालाई झापा प्रहरीले पक्राउ गरेको छ । उनीहरू फागुन २१ गते हुने निर्वाचनका विरोधमा गतिविधि सञ्चालन गरेको आरोपमा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा प्रहरीले सो पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर ब्युरो इन्चार्ज धमिल र झापा जिल्ला कमिटी सदस्य हेम अर्याल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको छ । यसैबीच, पार्टीका कार्यालय सचिव अविरलले प्रेस विज्ञप्ति जारी गर्दै संगठनात्मक कामका क्रममा रहेका नेतामाथि न्यूनतम लोकतान्त्रिक अधिकारसमेत उल्लंघन हुने गरी गैरन्यायिक रूपमा पक्राउ गरिएको आरोप लगाएका छन् । विज्ञप्तिमार्फत तत्काल उनीहरूको रिहाइको मागसमेत गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस