डा. केसीको जीवन रक्षा गर्न इन्सेकको माग
काठमाडौं - अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सत्याग्रहमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष माग गरेको छ ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै इन्सेकले व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै उक्त माग गरेको हो ।
‘डाक्टर गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको छानविन गर्नुपर्ने लगायतका ६ बुँदे माग राखी अनशनरत डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति इन्सेक चिन्ता जाहेर गर्दछ ।’ अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै इन्सेकले कोरोनाभाइरसको कारण फैलिएको विश्वव्यापी महामारीको प्रतिकार्य गर्न, सार्वजनिक स्वास्थ्य संचरनाको सुदृढीकरण तथा असल शासन आवश्यक भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस