काठमाडौं - स्वास्थ्यको कारण देखाउँदै एक सांसदले सांसद पदबाट राजीनामा दिएका छन्।  मेडिकल डाक्टर समेत रहेका सांसद सुर्यनारायण यादवले प्रतिनिधी सभा सदस्यबाट राजिनामा दिएका हुन्।

उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा बुझाएका छन्। सप्तरी १ बाट प्रत्यक्ष निर्वाचित सांसद यादव समाजवादी पार्टीका हुन्। वर्तमान सरकारमा उनकै पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री र राज्य मन्त्री डा सुरेन्द्र यादव छन्। 

यादवले स्वास्थ्य समस्याका कारण प्रतिनिधी सभामा समय दिन नसक्ने लगायतका विवरण उल्लेख गरेर सभामुख कृष्णबहादु महरालाई राजीनामा बुझाएका हुन्। उनको राजीनामा भने हालसम्म स्विकृत भएको छैन। 

उनको राजीनामा फिर्ता गर्न पार्टी अध्यक्ष उपेन्द्र यादव सक्रिय रुपमा लागेका छन्। सांसद डा यादवले प्रतिनिधी सभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई पराजित गरेका थिए। निर्वाचनमा उनले २१ हजार ७ सय १२ मत ल्याएका थिए। उनका प्रतिद्धन्द्धी वाम गठबन्धनका उम्मेदवार अशोक मण्डलले १८ हजार २ सय २५ मत ल्याएका थिए।