कोरोना कहरले खोस्यो रोजगारी
काठमाडौं - विश्वका गरीब मुलुकदेखि महाशक्ति राष्ट्रसम्म सबैलाई नराम्ररी प्रभावित पारेको छ । यही महाव्याधिका कारण अर्थतन्त्र ओरालो लाग्दा विश्वभर करोडौंले रोजगारी गुमाउनु परेको छ ।
कोरोनाले अर्थतन्त्रमा पारेको असर सन् २००९ मा विश्वव्यापी आर्थिक मन्दीभन्दा बढी देखिएको तथ्यांकले देखाउँछ । रोजगारी पनि यसैले धेरै खोसेको छ, जति विगतमा कुनै महामारीले खोस्न सकेको थिएन ।
अमेरिका
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकको शीर्ष स्थानमा अमेरिकाको नाम छ । यहाँका ३ करोडभन्दा बढी व्यक्तिको प्रत्यक्ष रोजगार गुमेको अध्ययनहरूले देखाएका छन् । सन् २००९ को विश्वव्यापी आर्थिक मन्दीलाई पनि पछि पार्ने गरी यसपटक कोरोनाले अमेरिकी अर्थतन्त्रलाई प्रभावित गरेको छ । अमेरिकामा यो वर्षको अप्रिलमा बेरोजगारीदर १४.७ प्रतिशत पुग्यो । जब कि सन् २००९ को अक्टुबरमा बेरोजगारीदर १० प्रतिशतसम्म पुगेको थियो । अप्रिल महिनामा त अमेरिकामा करीब ७८ प्रतिशतले रोजगारी गुमाएका थिए ।
ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्र
संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व श्रम संगठन (आईएलओ) ले अघिल्लो साता एक प्रतिवेदन सार्वजनिक गरेको छ । कोरोना महामारीले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा पारेको असरबारे गरिएको अध्ययनले एक दशकअघि विश्वले भोगेको आर्थिक मन्दीभन्दा कोरोनाको प्रभाव अर्थतन्त्रमा बढी देखिएको पाइएको छ । कोरोना माहामारीका कारण यस क्षेत्रमा रोजगार र आयमा ठूलो संकुचन आएको छ ।
प्रतिवेदनअनुसार यस क्षेत्रमा मात्रै करीब ३ करोड ४० लाख नागरिकले रोजगारी गुमाएका छन् । बढ्दो बेरोजगारीलाई हल गर्न नयाँ रणनीति अख्तियार गर्नुपर्ने सुझाव आईएलओको छ । अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, कोस्टारिका, मेक्सिको, पाराग्वे, पेरु र उरुग्वेमा गरिएको अध्ययनअनुसार त्यहाँका नागरिकको समग्र आम्दानी १९ प्रतिशतले खुम्चिएको छ भने काम गर्ने समय (वर्किङ आवर) पनि २० प्रतिशतमा सीमित भएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा यो क्षेत्रको क्षेत्रीय जीडीपीमा माइनस ९.४ प्रतिशतले संकुचन आउने अनुमान गरेको छ ।
भारत
भारतमा अहिले बेरोजगारी दर ६.६ प्रतिशत छ । जब कि मे महिनामा यो दर २४ प्रतिशत पुगेको थियो । त्यति बेला भारतभर लकडाउन गरिएको थियो र जागिर गुमाउनेको संख्या पनि अत्यधिक थियो । सरकारी तथ्यांकअनुसार भारतमा अप्रिलमा मात्रै १२ करोड व्यक्तिले जागिर गुमाएका थिए ।
भारतले कोरोना संक्रमण बढिरहेकै बेला देशव्यापी लकडाउन खुकुलो गरेपछि अर्थतन्त्र चलायमान बन्यो । यसका कारण पछिल्ला दिनहरूमा बेरोजगारीदर पनि घट्दै गएको हो । विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुकमध्ये भारतले कोरोनाका कारण जनस्वास्थ्यसँगै अर्थतन्त्रमा ठूलो नोक्सानी व्यहोर्नुपर्यो । कतिपय विश्लेषकका अनुसार भारतलाई पुरानै अवस्थामा फर्किन अझै ४ वर्ष लाग्नसक्छ । भारत विश्वमै धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा दोस्रो स्थानमा छ ।
अस्ट्रेलिया
विश्वका अन्य मुलुकजस्तै अस्ट्रेलियाको अर्थतन्त्र कोरोनाका कारण थिलथिलो बन्यो । मेमा अस्ट्रेलियाको बेरोजगारी दर ६.८ पुगेको थियो । यो सन् २००१ पछिकै सबैभन्दा खराब अवस्था हो । अगस्टदेखि भने अर्थतन्त्र सुधारोन्मुख छ । अर्थतन्त्रमा सकारात्मक संकेतहरू देखिन थालेका छन् । अगस्टमा मात्रै सरकारी र निजीमा गरी करीब २ लाख ६ हजार रोजगारीका लागि आवेदन मागिएको थियो । यो अघिल्लो महिनाको तुलनामा ६० प्रतिशत बढी हो । अस्ट्रेलियामा अहिले पनि ९ लाखभन्दा बढी व्यक्ति बेरोजगार छन् ।
क्यानडा
कोरोना महामारीले क्यानडाको अर्थतन्त्रलाई लगभग आर्थिक मन्दीकै अवस्थामा पुर्याएको थियो । तर मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले सामाजिक दूरी कायम गराउँदै अर्थतन्त्रलाई सञ्चालन गरेपछि केही राहत भने अवश्य भयो ।
अर्थतन्त्रलाई पुरानै अवस्थामा आउन भने अझै समय लाग्ने देखिन्छ । मेमा बेरोजगारीदर १३.५ प्रतिशत पुगेको थियो । यो सन् १९७६ यताकै सबैभन्दा खराब समय हो ।
क्यानडामा कोरोना भाइरस महामारीका कारण ठूलो संख्यामा नागरिकले रोजगारी गुमाए । मार्च, अप्रिलमा मात्रै करिब ३० लाख व्यक्तिले रोजगारी गुमाएका थिए । अहिले क्यानडामा ७० प्रतिशतभन्दा बढी व्यक्ति रोजगारीमा फर्किसकेका छन् । जुनमा मात्रै क्यानडामा चार लाख १८ हजार नयाँ रोजगारी थपिए ।
बेलायत
बेलायतमा कोरोनाका कारण अर्थतन्त्र धराशयी बन्दै गएपछि धेरै निजी कम्पनीले कामदार कटौती गर्ने नीति नै बनाए । बेलायतमा मार्चमा पहिलो पटक लकडाउन शुरू भएको थियो । त्यसपछि अगस्टसम्ममा त्यहाँका २७ लाख नागरिकले आफू रोजगारविहीन भएको भन्दै सरकारसँग सुविधा मागेका छन् । अहिले भने बेरोजगारीदर ४.१ प्रतिशत छ । यसबीचमा ७ लाखभन्दा बढीले रोजगारी गुमाए । यो वर्ष बेरोजगारीदर ९ प्रतिशतमाथि पुग्ने आकलन गरिएको छ ।
कोरोनाकै कारण लाखौंले अर्काे वर्ष पनि जागिर नपाउने अवस्था आउन सक्ने विज्ञहरूको अनुमान छ ।
इटाली
कोरोनाबाट सबैभन्दा बढी प्रभावित युरोपेली मुलुकमध्ये इटाली एक हो । इटालीमा मार्चदेखि लकडाउन शुरू गरिएको थियो । यहाँ बेरोजगारीदर ९.७ प्रतिशत छ । मेमा ८४ हजार व्यक्तिले रोजगारी गुमाए भने अप्रिलमा २ लाख ७४ हजार बेरोजगार बने । जुनमा करीब ६ लाखले रोजगारी गुमाएको त्यहाँको सरकारी तथ्यांकले देखाएको छ ।
अहिले इटालीमा लकडाउन हटाइएको छ । यसका कारण रोजगारीका क्षेत्रमा निरन्तर सुधार भइरहेको छ । अगस्टमा ८३ हजार नयाँ रोजगारी थपिएका छन् । सेप्टेम्बरमा रोजगारीमा फर्किनेको संख्या उल्लेख्य छ ।
रुस
रुसमा प्रत्येक वर्ष बेरोजगारीको संख्या घट्दै गएको छ । सन् २०१६ मा ५.५६ प्रतिशत, सन् २०१७ मा ५.२१, सन् २०१८ मा ४.८५ र सन् २०१९ मा ४.५९ प्रतिशत बेरोजगारी थियो । मुलुकमा बेरोजगारीदर घटाउँदै गएको रुसको अर्थतन्त्र सन् २०२० मा भने सुखद रहेन । कोरोनाका कारण अहिले बेरोजगारीदर बढेर ६.४ प्रतिशत पुगेको छ । अगस्टमा ४८ लाख १० हजार व्यक्तिले रोजगारी गुमाए भने जुलाईमा ४७ लाख ३० हजार बेरोजगार बने ।
अन्नपूर्ण पोस्ट दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस