काठमाडौं-एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले  सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

समूह बी को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि कुवेतले सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गरेको हो । कुवेतले दिएको २ सय ७३ रनको लक्ष्य पछ्याएको हङकङ ५० ओभरमा २ सय ४२ रनमा सीमित भयो । यता नेपाल पनि समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह ‘ए’ को विजेता बन्न सफल भयो ।

 नेपाल समूह चरणमा अपराजित रह्यो । जितसँगै नेपालले चार खेलबाट सात अङ्क जोड्यो । समूहमा  ‘ए’ मा रहेको ओमान छ अङ्कका साथ  उपविजेता बन्यो । नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । साथै नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो । 

आजको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो । कतारका लागि तीन खेलाडीले मात्र दोहारो अङ्कमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ रन जोडए भने अमिर फरिकले १४ रन बनाए ।

कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका  सन्दीप  लामिछानेले पाँच विकेट लिए भने सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै ललितनारायण राजवंशीले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२  रनको योगदान दिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले २७ रन, आसिफ शेखले १९ रन, दीपेन्द्रसिंह ऐरीले १२ र  सोमपाल कामी र आरिफ शेखले ११/११ रन बनाए ।  कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान तीन/तीन  विकेट लिए भने गयान मुनवाराले दुई विकेट लिए ।  त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएईबीच प्रतिस्पर्धा हुनेछ ।