काठमाडौं - बागमती प्रदेशमा हुन लागेको  एक जना राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवारी दिन गृहमन्त्री रामबहादुर थापा 'बादल' हेलिकप्टर लिएर हेटौंडा गएका छन्।

उम्मेदवारी दर्ता गर्न केही घन्टा बाँकी रहनुपहिले नेकपा एमालेले बादललाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको थियो। त्यसपछि बादल उम्मेदवारी दर्ता गर्न हेलिकप्टरमा हेटौंडा गएका छन्। 

उम्मेदवारी दर्ताको समय दिउँसो ४ बजेसम्म छ।   २०७४ को चुनावमा  बादलले माओवादी के‍न्द्रबाट राष्ट्रिय सभा सदस्य जितेका थिए। नेकपामा विवाद भएपछि बादल प्रधानमन्त्री ओलीको पक्षमा लागेका थिए। नेकपाको एकता भंग भएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो। 

शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो। यसअघि जित सुनिश्चित नभएसम्म चुनाव नलड्ने अडान थापाले लिएका थिए।

यता माओवादी-कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटाले उम्मेद्वारी दिएका छन्। राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि उनी हेटौंडा पुगिसकेका छन्।