अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्दार गर्न सरकारलाई निर्देशन
काठमाडौं - प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपालीहरुलाई उद्दार गर्न सरकारलाई निर्देशन दिएको छ।
आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पूर्ण नेपालीहरुलाई हवाई तथा अन्य माध्यमबाट तत्काल उद्दार गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले अफगानिस्तानमा कति नेपाली छन् र उनीहरुको अवस्था कस्तो छ एकिन गरी उद्धारको काम थाल्न निर्देशन दिएको छ ।
आइतबार मात्रै विद्रोही समूह तालिबान अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेपछि सर्वसाधारण आतंकित भएका छन् ।
पछिल्लो गत आर्थिक वर्षमा मात्र अफगानस्तानमा रोजगारीका लागि एक हजार ७३ जना नेपालीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए। अफगानिस्तानमा पुगेका नेपालीहरु आर्मी, हस्पिटालिटी र जनरल सेक्युरिटीमा धेरै रहेको वैदेशिक रोजगार व्यवसायी संघले बताएकाे छ । आर्मीमा मात्र १२ देखि १५ सयको संख्यामा नेपालीहरु रहेका छन् भने हस्पिटालिटी क्षेत्रमा रहेकाहरुमध्ये ३ सय ६१ जना संघको सम्पर्कमा आएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस