काठमाडौं - नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्रीबाट विदा हुनासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 

ज्ञवालीले सामाजिक सञ्जालमार्फत् आफू मन्त्री पदमा रहँदाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको उल्लेख गरेका छन् । ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २०,००० गरी जम्मा ९३४,९३० पार्टी खातामा जम्मा भएको ‘’, ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै उनले पारिश्रमिकको कर कट्टी बापत ३,७२,८९१.१३ रुपैयाँ सरकारी कोषमा दाखिल भएको पनि ज्ञवालीले उल्लेख गरेका छन् ।

यसबाहेक आफ्नो बैंक खातामा सात लाख ४१ हजार ७७५.६० रुपैयाँ बचत रहेको पनि उनले उल्लेख गरेका छन् । मन्त्री रहँदा दुई सय जति पुस्तक थपिनु बाहेक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको उनको भनाई छ ।

उनले आज (शनिबार) बिहानै मन्त्री निवास छोड्ने जानकारी समेत गराएका छन् ।