कैलाली - इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीलाई बुधबार सार्वजनिक अभिव्यक्ति तथा अन्य केही विषयमा स्पष्टीकरण लिन जिल्ला प्रहरी कार्यालयमा बोलाइएको थियो ।
आवश्यक सोधपुछ सम्पन्न भएपछि उनलाई पुनः इलाका प्रहरी कार्यालय सुखडमा खटाइएको हो । प्रहरी स्रोतका अनुसार डीएसपी चौधरीसँग पछिल्लो सार्वजनिक अभिव्यक्तिमात्र नभई यसअघि उठेका केही विषयबारे पनि जानकारी लिइएको छ ।
डीएसपी चौधरीमाथि यसअघि सार्वजनिक भएका विवादित घटनाबारे प्रहरी आन्तरिक छानविन गरिरहेको थियो । तर बुधबार बिहान बालेनको पुलिस होइन भन्ने अभिव्यक्तिसहितको भिडियो सार्वजनिक भएपछि माहोल थप तातेको थियो । त्यसपछि उनलाई सोधपुछका लागि जिल्ला झिकाइएको थियो ।
डीएसपी चौधरीले केही दिनअघि घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा “हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो” भन्ने अभिव्यक्ति दिएका थिए ।
प्रहरी स्रोतका अनुसार स्पष्टीकरणका क्रममा चौधरीले आफ्नो शब्द चयन उपयुक्त नभएको स्वीकार गर्दै कुनै बदनियत नराखी बोलेको बताएका छन् ।
उनले सचेतनामूलक कार्यक्रमको सन्दर्भमा अनजानेमा केही शब्द अनुपयुक्त रूपमा प्रयोग भएको स्पष्ट पारेको बताइएको छ ।
यस्तै, बजारमा आफैँ पुगेर सामान जफत गरेको र पछि फिर्ता गरेको आरोपसमेत उनीमाथि लागेको छ । पसलबाट सामान लगेको र फिर्ता गरेको पनि भिडियोहरु भाइरल छन् ।
साथै त्यसभन्दा अगाडि सेवाग्राहीसँग कुराकानी गर्ने बेला आफूले लगाएको सर्टका टाँक खालेर बसेको पनि भिडियो सार्वजनिक भएको थियो । सो विषयबारे अस्ति मात्रै जिल्लाको टोली उनको कार्यालयमा पुगेर जानकारी लिएको थियो ।

.gif)



