माओवादी केन्द्रले सर्वोच्चको फैसलाविरुद्ध आज पुनरावलोकन निवेदन दर्ता गराउने
काठमाडौं - नेकपालाई एमाले र माओवादी केन्द्रमै फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले आज पुनरावलोकन निवेदन दर्ता गराउने भएको छ ।
माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा निवेदन दर्ता गराउन लागेका हुन् । केही दिनदेखि लगातार कानुन व्यवसायीसँग छलफलमा जुटेका दाहालले आज निवेदन दिने तयारी गरेका हुन् ।
सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानूनी सिद्धान्तको प्रतिकुल फैसला वा अन्तिम आदेश भएको देखिएमा पुनरावलोकन गर्न सक्ने प्राबधानमा टेकेर दाहालले निवेदन दिन लागेका हुन् ।
नमागेको विषयमा फैसला दिने भन्ने कुरा स्थापित नजिर र कानूनी सिद्धान्त विपरीत रहेको दाबी माओवादी केन्द्रको छ ।
फैसला भएको ६० दिनभित्र पुनरावलोकनका लागि निवेदन दिनुपर्ने कानुनी व्यवस्था छ । निवेदन परेपछि सो विषयमा पुनरावालेकन हुन योग्य छ वा छैन भन्ने विषयमै सुरुमा फैसला गर्ने बाहेक दुई जना न्यायाधीशको इजलासले निर्णय गर्नुपर्ने व्यवस्था छ ।
सर्वोच्चले फागुन २३ गते निर्वाचन आयोगले २०७५ जेठ २३ गते एमाले र माओवादी केन्द्र एकता भइ बनेको नेकपा नाम दिने निर्णय बदर गर्दै एकता गर्ने भए फेरि सुरुदेखि नै प्रक्रिया थाल्न आदेश जारी गरेको थियो । नेकपा नाम ऋषि कट्टेल अध्यक्ष रहने पार्टीको हुने अदालतले फैसला गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस