काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र जोगाउन जनयुद्धजस्तै अर्को संघर्ष गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

बुधबार माओवादीनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘अहिले कता कता हाम्रो क्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार हुन खोजिरहेको छ, विभिन्न कोणबाट,’ अध्यक्ष दाहालले भने, ‘क्रान्तिका उपलब्धिको रक्षा गर्न र नयाँ क्रान्ति समाजवादतिर यो देशलाई डो¥याउन पनि अब एकचोटी फेरि हिजो जनयुद्धमा जस्तै गरी महिलाहरूको सहभागिता, सक्रियता सदनमा पनि, सरकार पनि र सडकमा पनि आउन जरुरी छ।’

समाजवाद र महिलामाथिको विभेद सदाको लागि अन्त्य गर्न महान् आन्दोलनमा जानुपर्ने उनले बताए। महिलाहरूको सक्रिय सहभागिताले मात्रै प्रतिक्रान्तिका खतराहरू निस्तेज हुने उनले दाबी गरे ।

‘सबै खाले प्रतिगामी षडयन्त्र र समाजवादका निम्ति अगाडि जाने संकल्प गर्नुपर्नेछ,’ उनले भने ।